भैरहवा । युरी एफसी र चिया चाह क्लब रुपन्देहीको सिद्धार्थनगरमा जारी दोस्रो सिद्धार्थ एफए कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा युरीले सिमाले फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनायो । युरीको जितमा आरुष राना र अंकित रासकोटीले गोल गरे । उता सिमालेका लागि अमनले गोल फर्काएका थिए ।
त्यस्तै बुधबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा चिया चाहले आयोजक सिद्धार्थ फुटबल एकेडेमी (ए) लाई १–० ले पराजित गर्यो । चिया चाहको जितमा सरोज थापाले एक मात्र निर्णायक गोल गरे ।
अब यही कार्तिक २० गते शुक्रबारका दिन हुने फाइनलमा युरी एफसी र चिया चाह क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सिद्धार्थ फुटबल एकेडेमी, सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।