काठमाडौं । प्रतिष्ठित साफ महिला च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली र एएफसी यु–१७ एसियन कप छनौट खेल्ने तयारीमा रहेको राष्ट्रिय यु–१७ टोली दशैं लगतै पनि बन्द प्रशिक्षण र अभ्यास मै वयस्त रहने भएका छन् । निकट स्रोतका अनुसार टोलीलाई दशैंको दिन मात्र आराम दिइएको छ ।
यही अक्टुबर १७ देखि ३० तारीखसम्म नेपाल मै हुने साफ महिला च्याम्पियनसिप र अक्टुबर २३ देखि २७ तारीखसम्म कतारमा हुने एएफसी यु–१७ एसियन कप छनौटको मिति नजिकिंदै गर्दा त्यसकै तयारीमा रहेका टोलीहरुले दशैंमा पनि बन्द प्रशिक्षण मै रहेर अभ्यास गर्ने भएका हुन् । दुवै टोलीहरु दशैं अगाडीबाटै बन्द प्रशिक्षण मै व्यस्त छन् ।
साफ महिला च्याम्पियनसिपतर्फ समूह बी मा रहेको नेपालले भुटान, माल्दिभ्स र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल गत संस्करणको उपविजेता पनि हो । त्यस्तै समूह ए मा साविक विजेता बंगलादेशसँगै दावेदार भारत र पाकिस्तान रहेका छन् ।
त्यस्तै एएफसी यु–१७ एसियन कप छनौटतर्फ समूह एफमा रहेको नेपालले दुई बलिया टोलीहरु जापान र कतारसँगै मंगोलियासँग खेल्ने कार्यक्रम छ । यस समूह चरणका सबै खेलहरु कतारी शहरअल रयन स्थित एस्पायर डोममा हुनेछन् ।