मुलखर्क । संखुवासभाको मादी नगरपालिका–३, मुलखर्कमा प्रथम मझिया स्मृति आमन्त्रित महिला फुटबल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा रेवाहाङ फेयर फुटबल क्लब धरान, सुनसरीले शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
समाजसेवी स्वर्गीय मझिया मानबहादुर जिमीको स्मृतिमा मझिया मानबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा धरानले मावादिन युवा विकास समाज मादी, संखुवासभालाई ५–० गोलअन्तरले पराजित गरेको हो।
धरानको जितमा सिक्सम याक्खाले दुई गोल गरिन् भने आशिका कार्की, प्रजिता राई र यामकुमारी बीकेले समान एक–एक गोल थपिन्। उत्कृष्ट प्रदर्शन गरेकी धरानकी प्रजिता राई खेलको प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरिन्।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले गरेका थिए।
कार्तिक १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ हात पार्नेछ।