खोटाङ । सातौँ सोल्मा वडा कप फुटबल प्रतियोगिताको उपाधि वनपाला इन्द्रेणी पोखरी वडा नम्बर ६ ले जितेको छ।
खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकास्थित सोल्मा खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा माथिम वडा नम्बर ५ लाई ३–० गोल अन्तरले पराजित गर्दै वनपाला इन्द्रेणी पोखरी वडा नम्बर ६ ले उपाधि जित्न सफल भएको हो।
वनपाला इन्द्रेणी पोखरीको जितमा धिरेन राई, सुवराज हाङ राई र निरज राईले समान एक–एक गोल गरे। खेलको उत्कृष्ट खेलाडी ठूलोढुङ्गाका जर्सी नम्बर २२ का धिरेन राई घोषित भए।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीमा विजय राई, उत्कृष्ट गोलरक्षकमा सुवराज राई, उत्कृष्ट रक्षकमा सविन भुजेल तथा उत्कृष्ट प्रशिक्षकमा विकास राई घोषित भए।
त्यस्तै उत्कृष्ट मध्यपङ्क्तिका खेलाडीमा युसन राई र सर्वाधिक गोलकर्तामा सायल राई घोषित भए। प्रतियोगिताको उदाउँदो खेलाडी नेर्पा स्पोर्ट्स क्लबका इन्जन राई घोषित भए।