ANFA तेस्रो दोभान कपः सैनामैना, पैठेडाँडा र दोभान (ए) को जित
गोलनेपाल

दोभान । पाल्पाको तिनाउ गाउँपालिकामा जारी तेस्रो दोभान कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत सैनामैना एफसी, पैठेडाँडा एफसी र आयोजक दोभान फुटबल क्लब (ए) ले जित हात पारेका छन् ।

तिनाउ गाउँपालिका २ स्थित दोभान फुटबल मैदानमा भएको खेलमा सैनामैनाले मोहन एफसीलाई टाईब्रेकरमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा सैनामैनाका मोहन शाही प्लेयर अफ द म्याच बने । यो जितसँगै सैनामैना सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

दोस्रो खेलमा पैठेडाँडाले एनवाईसीलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । खेलमा पैठेडाँडाका सुशान्त थापा प्लेयर अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा आयोजक दोभान (ए) ले झरना एफसीमाथि १२–० को एकतर्फी जित निकाल्यो । यो जितसँगै दोभान (ए) क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा दोभानका जितेश गुरुङ प्लेयर अफ द म्याच बने ।

दोभान फुटबल क्लब, तिनाउ–२, दोभान, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए । फाइनल खेल यही कार्तिक २१ गतेका दिन हुनेछ ।

Post Comments