Gorkhalis Abroad लमजुङ एफसीलाई धरान हेल्पिङ हेण्डस कपको उपाधि
सुरज राना मगर

काठमाडौं । धरान हेल्पिङ हेण्डस तथा धरान फुटबल क्लब, युएईको आयोजनामा युएईमा रहेका प्रवासी नेपालीहरुबीच प्रतिस्पर्धा भई सम्पन्न भएको प्रथम धरान हेल्पिङ हेण्डस कपको उपाधि लमजुङ फुटबल क्लबले जितेको छ ।

अल कुज स्थित डुल्स्को भिलेज ग्राउण्डमा भएको उपाधि भिडन्त फाइनलमा लमजुङले न्यु ब्वाईज फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि जित्न सफल भएको हो । यद्यपि त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

विजेता बनेको लमजुङले उपाधिसहित नगद ७,१११ युएई दिराम हात पार्यो भने उपविजेता न्यु ब्वाईजले ४,१११ युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक लमजुङका कृष्ण क्षेत्री बन्दा उत्कृष्ट डिफेन्डर न्यु ब्वाईजका प्रतिकर रावत चुनिए । उत्कृष्ट प्रशिक्षक लमजुङका मन्दिप गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार नखिल एफसीका सुदिप राईले हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने लमजुङका विशन श्रेष्ठ घोषित भए ।

युएईमा रहेका कुल १६ नेपाली टोलीहरु सहभागि प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा गैरआवासीय नेपाली संघ, नेपाली समाजलगायत संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Post Comments