कैलारी । कैलालीको कैलारी गाउँपालिका–४ के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत बिहीबार पुरुषतर्फ आयोजक न्यु युवा सुन्दर शक्ति क्लब र ईलाईट युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ सुर्मादेवी युवा क्लब सेमिफाइनलमा पुगेको छ।
पुरुषतर्फको पहिलो खेलमा आयोजक न्यु युवा सुन्दर शक्ति क्लब, के गाउँले न्यु स्काई युवा क्लब, बिसनपुरलाई २–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो। न्यु स्काईका बिपिन चौधरीले नवौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि आयोजकका बिष्णु बिष्टले २०औँ र २१औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए। बिष्णु बिष्ट खेलको उत्कृष्ट खेलाडी घोषित भए।
महिलातर्फ सुर्मादेवी युवा क्लब, धनगढीले साविक विजेता हिमाल फ्रेन्ड्स क्लब, कञ्चनपुरलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। गोलरहित पहिलो हाफपछि सुर्मादेवीकी आशिका थापाले ६१औँ मिनेटमा निर्णायक गोल गरिन्। आशिका थापा खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।
पुरुषतर्फको तेस्रो खेलमा ईलाईट युवा क्लब, कैलारीले सैपाल युवा क्लब, स्याउलेबजारलाई ३–० गोलले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गर्यो। ईलाईटका सुदीप मगरले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। उनी खेलको उत्कृष्ट खेलाडीसमेत घोषित भए। संगम सारु मगरले १६औँ मिनेटमा दोस्रो गोल थपे भने सन्दीप सिंह ठकुरीले ४४औँ मिनेटमा तेस्रो गोल गर्दै ईलाईटको ३–० को जीत सुनिश्चित गरे।
प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुषतर्फ क्वार्टरफाइनलका दुई खेल हुनेछन्। पहिलो क्वार्टरफाइनलमा दिउँसो १:३० बजे सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढी र बुलबुले क्लब, घोडाघोडीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो क्वार्टरफाइनलमा दिउँसो ४ बजे वनदेवी समन्वय युवा क्लब, कैलारी र नवबुद्ध क्लब, धनगढी आमनेसामने हुनेछन्।
प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ८ टोली सहभागी छन्। पुरुषतर्फ विजेताले रु. १ लाख र उपविजेताले रु. ५० हजार तथा महिलातर्फ विजेताले रु. ४० हजार र उपविजेताले रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता भदौ २० गतेदेखि ३१ गतेसम्म सञ्चालन भइरहेको छ।