घोडाघोडी महिला सेमिफाइनलमा, संघर्ष पुरुष क्वार्टरफाइनलमा; बिहीबार तीन खेल हुने
गोलनेपाल

कैलारी । कैलालीको कैलारी गाउँपालिका–४ के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत बुधबार भएका दुई रोमाञ्चक खेलबाट महिलातर्फ घोडाघोडी क्लब सेमिफाइनलमा प्रवेश गर्दा पुरुषतर्फ संघर्ष स्पोर्ट्स क्लब क्वार्टरफाइनलमा पुगेको छ।

महिलातर्फ घोडाघोडी क्लब, सुखड कैलालीले सैपाल युवा क्लब, स्याउलेबजार, गोदावरीलाई २–१ गोलले पराजित गर्यो। पहिलो हाफमा १–० को अग्रता बनाएको घोडाघोडीका लागि जानकी साउदले २१औँ मिनेटमा गोल गरिन्। दोस्रो हाफमा संगिता बिकले ६१औँ मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर बनाइन्। सैपालकी भूमिका बुढाथोकीले ७०औँ मिनेटको अतिरिक्त समयमा गोल फर्काए पनि घोडाघोडीले २–१ को जीत निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। खेलको उत्कृष्ट खेलाडी संगिता बिक घोषित भइन्।

पुरुषतर्फ जखौरबाबा युवा क्लब, धनगढी र संघर्ष स्पोर्ट्स क्लब, मालाखेतीबीचको खेल १–१ गोलको बराबरीमा सकियो। संघर्षका राजेश नेपालीले १४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने जखौरबाबाका नवीन चौधरीले २२औँ मिनेटमा बराबरी गोल फर्काए। निर्धारित समय बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पनि ३–३ को बराबरी भयो। सडन डेथमा संघर्षले ४–३ को जीत निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो। संघर्षका गोलरक्षक दिनेश नेपाली खेलको उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगिताअन्तर्गत बिहीबार तीन खेल हुनेछन्। पुरुषतर्फ बिहान ११ बजे आयोजक न्यू युवा सुन्दर शक्ति क्लब, के गाउँ र न्यू स्काई क्लब, बिसनपुरबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ दिउँसो १:३० बजे सुरमादेवी युवा क्लब, धनगढी र हिमाल फ्रेन्ड्स क्लब, कञ्चनपुरबीच खेल हुनेछ। पुरुषतर्फकै अर्को खेलमा दिउँसो ४ बजे सैपाल युवा क्लब, स्याउलेबजार र ईलाईट क्लब, कैलारीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा पुरुषतर्फ विजेताले रु. १ लाख र उपविजेताले रु. ५० हजार तथा महिलातर्फ विजेताले रु. ४० हजार र उपविजेताले रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। पुरुषतर्फ १६ तथा महिलातर्फ ८ टोली सहभागी प्रतियोगिता भदौ २० गतेदेखि ३१ गतेसम्म सञ्चालन भइरहेको छ।

Post Comments