बुटवल । कान्ति मावि, नोबल एकेडेमी र नयाँगाउँ सेकेण्डरी स्कुल रुपन्देहीमा जारी एसियन पेन्टस च्याम्पियन्स कप यु–१८ अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा बुधबार भएको खेलमा कान्तिले नविन औद्योगिक कदर बहादुर रिता माविलाई २–१ ले पराजित गर्यो ।
त्यस्तै नोबल एकेडेमीले शान्ति नमुना माविलाई ३–१ ले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।
अर्को खेलमा भने नयाँगाउँ सेकेण्डरी स्कुलले वाकओभर पाउँदै जित हात पार्यो । विपक्षी टोली ग्रीन प्लान्ट स्कुल निर्धारित समयसम्म मैदानमा नआएपछि नयाँगाउँलाई विजयी घोषित गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत भाद्र २५ गते बिहीबार चारै क्वाटरफाइनल खेलहरु हुने रुपन्देही जिल्ला फुटबल संघका सचिव शंकर मल्लाहले जानकारी दिए ।
हिमालयन डायलग प्रा.लि. को आयोजना तथा रुपन्देही जिल्ला फुटबल संघको व्यवस्थापन र संयोजनमा जारी प्रतियोगिताको विजेताले काठमाडौंमा हुने अन्तिम चरणको निर्णायक प्रतियोगिता खेल्नेछ ।