सतीसाले स्पोर्टिङ क्लब फाइनलमा, एपीएफ पक्कली निराश
गोलनेपाल

सुनसरी, इटहरी – प्रथम तरहरा कप फुटबल प्रतियोगिताको आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सतीसाले स्पोर्टिङ क्लब ले एपीएफ पक्कलीलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

इटहरी उपमहानगरपालिका–२० स्थित बौभासी खेल मैदानमा सम्पन्न खेलमा सतीसालेले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै विभागीय टोली एपीएफमाथि दबाब कायम राख्यो।

खेलको पहिलो हाफमा विकास परियारले शानदार गोल गर्दै सतीसालेलाई अग्रता दिलाए। कर्नर किकबाट आएको बललाई बक्सबाहिरबाट उनले गरेको शक्तिशाली लङ–रेन्ज प्रहार सीधै जाली चुम्दै गोलमा परिणत भएको थियो।

यसअघि पनि विकास परियारको अर्को प्रहार साइडबारमा लागेर फर्किएको थियो भने टोलीले पहिलो हाफमा थप केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। साजन बर्दिवा ले पनि पहिलो हाफमा तीनवटा राम्रो अवसर गुमाएका थिए।

पहिलो हाफ १–० ले अघि रहेको सतीसालेले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो। दोस्रो हाफमा साजन बर्दिवा ले गोल गर्दै टोलीलाई २–० को सुरक्षित अग्रता दिलाए, जुन अन्तिम नतिजा बन्यो।

यता एपीएफ पक्कलीले खेलभर उल्लेखनीय अवसर सिर्जना गर्न सकेन। सतीसालेका खेलाडीहरूले कडा मार्किङ गर्दै विभागीय टोलीका खेलाडीलाई प्रभाव जमाउनै दिएनन्। उत्कृष्ट प्रदर्शन गरेका विकास परियार दोस्रो सेमिफाइनल खेलको म्यान अफ द म्याच घोषित भए।

अब प्रतियोगिताको फाइनल खेल भोलि दिउँसो ३:०० बजे हुनेछ। उपाधिका लागि पूर्वाञ्चल युनाइटेड क्लब, मोरङ र सतीसाले स्पोर्टिङ क्लब बीच प्रतिस्पर्धा हुनेछ।

Post Comments