काठमाडौं (एजेन्सी) । फिफाले पहिलोपटक दक्षिणपूर्वी एसियाली राष्ट्रहरुबीच आयोजना गर्न लागेको फिफा एसिआन कपमा दक्षिण एसियाका दुई टोलीहरु भारत र पाकिस्तानले पनि सहभागिता जनाउने भएका छन् ।
आउँदो सेप्टेम्बर २४ देखि अक्टुबर ३ तारीखसम्म इण्डोनेसियामा हुने फिफा एसिआन कपमा भारत र पाकिस्तानले आमन्त्रित टोलीका लागि सहभागिता जनाउने भएका हुन् । त्यस्तै अर्को आमन्त्रित टोलीमा हङकङ पनि रहेको छ ।
प्रतियोगिता दुई डिभिजनमा हुनेछन् । भारत र पाकिस्तान डिभिजन १ मा छन् र डिभिजन १ का खेलहरु इण्डोनेसियामा हुनेछ । त्यस्तै डिभिजन २ का खेलहरु हङकङमा हुनेछन् ।
डिभिजन १ तर्फ समूह ए मा रहेको भारतले आयोजक इण्डोनेसिया, मलेसिया र सिंगापुरसँग खेल्नेछ । त्यस्तै समूह बी मा रहेको पाकिस्तानले भियतनाम, थाइल्याण्ड र फिलिपिन्ससँग खेल्नेछ ।
त्यसैगरी डिभिजन २ मा समूह ए तर्फ आयोजक हङकङसहित म्यानमार र ब्रुनेई रहेका छन् भने समूह बी मा कम्बोडिया, लाओस र टिमोर लिस्टे रहेका छन् ।
डिभिजन १ को विजेताले उपाधिसहित १० लाख अमेरिकी डलर हात पार्नेछ भने डिभिजन २ को विजेताले उपाधिसहित ३ लाख अमेरिकी डलर पाउने बताइएको छ । त्यस्तै सहभागि सबै टोलीहरुलाई जनही १ लाख २५ हजार अमेरिकी डलर दिइने पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।