पूर्वाञ्चल युनाइटेड फाइनलमा
गोलनेपाल

इटहरी, सुनसरी – इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित बौभासी खेलमैदानमा सञ्चालित प्रथम तरहरा कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चल युनाइटेड ले शुभविहानी क्लब, रामधुनी लाई ६–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

आज सम्पन्न खेलमा पहिलो हाफमै २–० को अग्रता बनाएको पूर्वाञ्चल युनाइटेडले दोस्रो हाफमा थप चार गोल गर्दै प्रभावशाली जित हात पार्यो।

पूर्वाञ्चल युनाइटेडका लागि पहिलो गोल अमित बेस्राले गरे। त्यसपछि बक्स बाहिरबाट प्राप्त फ्रिकिकमा दर्जे तामाङले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमै २–० को अग्रता दिलाए।

दोस्रो हाफमा अमित बेस्रालेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्याए। त्यसपछि शुभविहानी क्लबले खेलमा फर्कने प्रयास गर्दै सन्दीप लिम्बू र अनिस सबास धामी को गोलमार्फत खेललाई ३–२ को अवस्थामा ल्यायो। सन्दीप लिम्बूले पहिलो गोल गरे भने अनिस RD ले बक्स बाहिरबाट गरेको आकर्षक प्रहार सिधै जालीमा पुगेपछि टोलीले दोस्रो गोल गर्न सफल भयो।

तर त्यसपछि पूर्वाञ्चल युनाइटेडले खेलमा पुनः नियन्त्रण कायम गर्यो। समीर राईले लगातार दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए। अन्त्यतिर सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका युवा खेलाडी शिव राईले उत्कृष्ट फिनिस गर्दै टोलीको छैटौं गोल गरे र पूर्वाञ्चल युनाइटेडलाई ६–२ को शानदार जित दिलाए।

खेलको प्लेयर अफ द म्याच पूर्वाञ्चल युनाइटेडका जर्सी नम्बर १० का समीर राई घोषित भए।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सतीश आले स्पोर्टिङ क्लब र एपीएफ पकली बीच प्रतिस्पर्धा हुनेछ।

Post Comments