
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार तीन खेलहरु सम्पन्न हुँदा त्यसमा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा संकटाले जावलाखेल युथ क्लबलाई ५–० को अन्तरले हरायो । संकटाको जितमा पेम्बा लामाले दुई गोल गरे भने थप तीन गोल सुमित बलम्पाकी, करण बहुल र प्रजल कुमार लुम्रेको नाममा रह्यो ।
त्यस्तै दिनको दोस्रो खेलमा मच्छिन्द्रले एपिएफ फुटबल क्लबलाई ४–१ को अन्तरले पराजित गर्यो । मच्छिन्द्रको जितमा बिकास थापा र सुमन बम ठकुरीले समान दुई–दुई गोल गरे । उता पराजित एपिएफका लागि भने पुजन ढकालले एक मात्र गोल फर्काएका थिए ।
त्यसैगरी आइतबार नै भएको तेस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले एनआरटीलाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हराउँदै आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।