
भरतपुर । चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको उपाधि सूर्यपुर एफसीले जितेको छ । आज सम्पन्न उपाधि भिडन्तमा हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई ३-१ ले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो ।
दोस्रो पटक यस प्रतियोगितामा सहभागी सूर्यपुरले पहिलो पटक उपाधि जितेको हो । उता पहिलो संस्करणको विजेता बिएफसी भने चौथी संस्करणमा उपविजेतामा सीमित भएको छ । सूर्यपुरको जितमा बिक्की चामलिङ राईले दुई तथा जय गुरुङले एक गोल गरे । बिएफसीले एक उपहार गोल पाएको थियो ।
खेलमा अग्रता भने बिएफसीले लिएको थियो । खेलको नवौं मिनेटमा राम थापाको आत्मघाती गोलमा बिएफसीले अग्रता लिएको थियो । तर उसको अग्रता धेरै समय टिकेन । १९ औं मिनेटमा जय गुरुङले सुन्दर गोल गरे । २४ औं मिनेटमा बिक्कीले गोल गर्दै सुर्यपुरलाई अग्रता दिलाए ।
२७ औं मिनेटमा बिक्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि सुर्यपुर विजयी भयो । बिक्की फाइनलको प्लेयर अफ दि म्याच भए । च्याम्पियन बनेको सुर्यपुरले ट्रफीसहित ३ लाख ३ हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित बिएफसीले १ लाख ७५ हजार प्राप्त गरेको छ ।