तेस्रो न्यु युथ युनियन कपः मनोभाव क्वाटरफाइनलमा

तानसेन । सहज जितका साथ मनोभाव फुटबल क्लब यहाँ जारी तेस्रो न्यु युथ कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा मनोभावले आयोजक न्यु युथ युनियन क्लबमाथि ३–० को जित निकाल्यो । टुंडिखेल मैदानमा भएको खेलमा मनोभावका लागि विकी थापा, दर्शन बिक र आशमान क्षेत्रीले गोल गरे ।
खेलमा मनोभाव कै दर्शन बिक म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ १० गते शनिबारको पहिलो क्वाटरफाइनल खेल साविक विजेता फर्साटिकर युवा क्लब र युनाइटेड युथ क्लबबीच हुनेछ ।
न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।
Post Comments