
विजयपुर । रामपुर नगरपालिका र नगर खेलकुद विकास समिति, रामपुरको आयोजनामा शनिबारदेखि पूर्वी पाल्पाको रामपुरमा निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
रामपुर–६, विजयपुर स्थित स्थानीय खेलमैदानमा शुरु भएको ग्रासरुट प्रशिक्षणमा ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको प्रशिक्षक अनिल शाही ठकुरीले बताए ।
एन्फा प्रशिक्षक सरोज अधिकारीको मुख्य प्रशिक्षणमा शुरु भएको ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रममा उनलाई स्थानीय खेलाडी तथा प्रशिक्षकहरु केशवराज श्रेष्ठ, अनिल शाही, कसम मल्ल, गौरव क्षेत्री, गम बहादुर रम्जाली लगायतले सघाईरहेका छन् ।
प्रशिक्षण कार्यक्रममा रामपुरका उल्लेख्य बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक समेत रहेका अनिल शाही ठकुरीले प्रशिक्षण कार्यक्रममा अनय उमेर समूहका युवा खेलाडीहरु पनि सहभागि हुन सक्ने जानकारी दिए ।
उता खेलप्रेमी मेयरका रुपमा राम्रो छवी बनाएका रामपुर नगरपालिकाका नगर प्रमुख रमन बहादुर थापाले आफ्नै नगरमा ग्रासरुट फुटबल प्रशिक्षणको शुरुवात भएकोमा खुशी व्यक्त गरे । नगर भित्र फुटबल खेलको विकास र प्रवद्र्धनमा ग्रासरुट फुटबल प्रशिक्षण कोशेढुंगा साबित हुने मेयर थापाले औंल्याए । साथै उनले नगरभित्र हुने खेलकुद गतिविधीका कार्यक्रमहरुमा आफ्नो निरन्तर साथ र सक्दो सहयोग रहने वचन समेत दिए ।