Province 1 अर्जुनधारामा भेट्रान्स फुटबल हुने, विजेताले नगद ५१ हजार पाउने
रमेश समदर्शी

झापा । झापाको अर्जुनधारा ११ मा रहेको मिलडाँडा युवा परिवारको आयोजनामा प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी असोज १७ गतेदेखि २४ गतेसम्म स्थानीय प्रगति टोलस्थित देउनिया खेलमैदानमा सञ्चालन हुनेछ।

खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले बताए ।

आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा झापा र पाँचथरका ८ टोलीको सहभागिता रहने छ । जसमा आयोजकसँगै मेचीनगर, भद्रपुर, पृथ्वीनगर, बिर्तामोड, झिलझिले, चारपाने र पाँचथरको बौद्ध भेट्रान्स क्लबले सहभागिता जनाउने छ । आयोजक टोलीका कप्तान टेकराज तिलिङका अनुसार प्रवेश कटुवाल, विशाल राई, सन्तोष बस्नेत, अंकुर खड्गीलगायत भरपर्दा खेलाडी आयोजक टोलीमा रहने छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ र उपविजेताले नगद ३१ हजार १११ नगदसहित ट्रफी पाउने आयोजक समितिका कोषाध्यक्ष किरण जवेगुले बताए । च्याम्पियन पुरस्कार फुटबलप्रेमी एन पेनाङ एफसीका नेत्रनारायण श्रेष्ठले प्रायोजन गरेका हुन् । उनका अनुसार प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद २ हजार ट्रफी पाउँदा विधागत पुरस्कारतर्फ नगद ३ हजार ५ सय र सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजारसहित ट्रफी पाउने छ ।

Post Comments