ललितपुर । ललितपुर, बुङ्गमतीस्थित लक्की स्टार क्लबको आयोजनामा दोस्रो संस्करणको ‘रातो मच्छिन्द्रनाथ कप–२०८३’ आयोजना हुने भएको छ। ललितपुर जिल्ला स्तरीय अन्तरविद्यालय ७-ए-साइड फुटसल प्रतियोगिता आगामी भदौ २९ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा ललितपुर जिल्लाभित्रका विद्यालयहरूको सहभागिता रहनेछ। प्रतियोगिताको टोली दर्ताको अन्तिम मिति भदौ २२ गते निर्धारण गरिएको छ भने दर्ता शुल्क रु. ६,००० कायम गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ५०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
लक्की स्टार क्लबका अध्यक्ष किशोर महर्जनले विद्यालयस्तरबाटै फुटसल खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा खेलमार्फत अनुशासन, नेतृत्व र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए। उनले ललितपुर जिल्लाका सम्पूर्ण विद्यालयलाई समयमै टोली दर्ता गराई प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्।
प्रतियोगिताका खेलहरू सुनाकोठी स्पोर्टिङ क्लब, सुनाकोठी–ललितपुरमा सञ्चालन हुनेछन्। प्रतियोगिताको भेन्यु पार्टनर सुनाकोठी स्पोर्टिङ क्लब, मिडिया पार्टनर गोलनेपाल डट कम तथा सह–आयोजकका रूपमा आदर्श शौलः युवक माध्यमिक विद्यालय, ललितपुर महानगरपालिका–२२, बुङ्गमती रहेको छ। साथै प्रतियोगितालाई ललितपुर महानगरपालिका–२२, बुङ्गमतीको सहयोग रहने आयोजकले जनाएको छ।