News प्रथम तरहरा कप फुटबल प्रतियोगिता: सतिशाले स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित बौभासी खेल मैदानमा जारी प्रथम तरहरा कप फुटबल प्रतियोगिताको आज सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा सतिशाले स्पोर्टिङ क्लबले शान्तिनगर फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको १५औँ मिनेटमा विकास परियारले उत्कृष्ट लङ रेन्ज प्रहारमार्फत सतिशाले स्पोर्टिङ क्लबलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा प्राप्त कर्नर किकमा बिक्रम चेम्जुङको पासलाई करिब ३० यार्ड टाढाबाट विकास परियारले गरेको शक्तिशाली प्रहार सिधै जालीमा पुगेपछि सतिशाले स्पोर्टिङ क्लबले १–० को अग्रता बनाएको थियो।

त्यसको दुई मिनेटपछि अर्थात् खेलको १७औँ मिनेटमा नितेश लिम्बूले आकर्षक फिनिसिङ गर्दै सतिशाले स्पोर्टिङ क्लबको अग्रता दोब्बर बनाए। पहिलो हाफमा शान्तिनगरले केही अवसर सिर्जना गरे पनि गोल गर्न भने सफल हुन सकेन।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको शान्तिनगरले दोस्रो हाफको नवौँ मिनेटमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी विवेक राईमार्फत एक गोल फर्काउँदै खेलमा पुनरागमनको संकेत दिएको थियो। त्यसपछि शान्तिनगरका सुभाङ्ग राईले पनि केही उत्कृष्ट अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा खेलमा फर्किन सकेनन्।

निर्धारित समयसम्म २–१ को अग्रता जोगाएको सतिशाले स्पोर्टिङ क्लब विजयी हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

खेलको प्लेयर अफ द म्याच सतिशाले स्पोर्टिङ क्लबका नितेश लिम्बू घोषित भए। आजको खेलमा प्रमुख अतिथिका रूपमा बिरेन्द्र गुरुङको उपस्थिति रहेको थियो।

प्रतियोगिताअन्तर्गत भोलि साउन १९ गते हुने तेस्रो क्वार्टरफाइनल खेलमा सुबबिहानी क्लब, सुनसरी र युनाइटेड क्लब अफ तरहरा, सुनसरीबीच प्रतिस्पर्धा हुनेछ।

Post Comments
Advertisement Yamaha Nepal