News झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत मृत अवस्थामा भेटिए
गोलनेपाल

झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका चर्चित युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।

बिर्तामोड–१ स्थित आफ्नै निवासमा उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन्। घटना विवरण संकलन भइरहेको र घटनास्थल सिल गरिएको प्रहरीले जनाएको छ।

विनोद बस्नेत सामाजिक तथा व्यावसायिक क्षेत्रका सक्रिय अगुवा थिए। कृष्णबहादुर बस्नेतका जेठा छोरा रहेका उनी झापा गोल्डकपका पूर्व अध्यक्ष, जेसीज समाज झापाका अध्यक्ष, ‘एकका लागि एक’ अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यसमिति सदस्य, तथा मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव थिए। सयपत्री ट्रेड लिंकसहित उनी विभिन्न व्यवसायिक प्रतिष्ठानका सञ्चालक समेत थिए।

जेसीज अभियानमा लामो समयदेखि संलग्न बस्नेत वीरता जेसीज र रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष, साथै नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पनि थिए।

उनकी श्रीमती कोपिला बस्नेत अधिवक्ता पेशामा आवद्ध छिन् भने एक मात्र छोरी विभूति हाल एमबीबीएस अध्ययनरत छिन्।

बस्नेतको असामयिक निधनले झापा जिल्लाको सामाजिक तथा व्यवसायिक क्षेत्र शोकमग्न बनेको छ। विभिन्न संघ–संस्थाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनका योगदानलाई स्मरण गर्दै धेरैले सामाजिक सञ्जालमार्फत संवेदना प्रकट गरेका छन्।

 

Post Comments