News चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
गोलनेपाल

फेदाप । चुलाचुली स्पोर्टिङ क्लब दमक झापा तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर ३ जलजले तोक्मा तीनधारेमा जारी चौथो केलाङ मेला खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक मुनाल युवा क्लब जलजलेलाई ३-२ गोलले पराजित गर्दै चुलाचुली प्रतियोगिताको फाइनलमा पुगेको हो ।

चुलाचुलीको जितका लागि पुजन चौधरीले दुइ र लोकेन्द्र थापाले एक गोल गरे ।आयोजक मुनालका तर्फबाट राज लिम्बु र रेमन खापुङले एक एक गोल गरे ।

खेलको पहिलो हाफमा पुजन चौधरीको गोल मार्फत अग्रता बनाएको चुलाचुली विरूद्ध पहिलो हाफमै मुनालका राज लिम्बुले बराबरी गोल फर्काएका थिए।

दोस्रो हाफमा मुनालका क्यापटेन रेमन खापुङले गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए । त्यसको केही समय पछि नै चुलाचुलीका लागि पुजन चौधरीले थप गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

बराबरीको स्थितिमा सन्चालन भइ रहेको प्रतिस्पर्धातमक खेलको ५६औँ मिनेटमा चुलाचुलीको तर्फबाट लोकेन्द्र थापाले थप एक गोल गर्दै खेललाई ३-२ को स्थितिमा पुर्याएका थिए ।

सोही नतिजालाई कायम राख्दै चुलाचुली स्पोर्टिङ क्लब झापाले प्रतियोगिताको फाइनल यात्रा तय गरेको हो ।

खेलको म्यान अफ दि म्याच चुलाचुलीका पुजन चौधरी घोषित भए । उनले नगद रू एक हजार प्राप्त गरे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बैशाख २८ गते आइतबार जि.सि. इन्टेक २२ र सम्दु एफसी बिचको प्रतिस्पर्धा रहनेछ ।

बैशाख २३ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुनेछ ।

खुल्ला पुरूष तर्फको विजेताले २ लाख २ हजार ८२ रुपैया सहित तीन वर्षे रनिङ ट्रफि प्राप्त गर्नेछ । उक्त पुरस्कार ललिता हुक्पा चोङवाङ सिंगकले प्रायोजन गर्नु भएको छ ।

उपविजेताले १ लाख ११ हजार ८२ रुपैया सहित ट्रफि प्राप्त गर्नेछन ।प्रायोजक शम्सेर तुम्बाहाङफे हुनुहुन्छ ।

त्यस्तै खुल्ला महिला तर्फको बिजेताले ४० हजार ८२ रूपैया सहित तीन वर्षे रनिङ ट्रफि जसलीई प्रायोजन स्वर्गीय बाजे बल बहादुर बस्नेतको स्मृतीमा देवेन्द्र बस्नेतले प्रायोजन गर्नु भएको छ ।उपविजेताले २५ हजार ८२ रूपैया सहित ट्रफि प्राप्त गर्नेछ जसलाई सन्देश सम्बाहाम्फेले प्रायोजन गर्नु भएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक, हाई स्कोररलाई उचित पुरस्कार साथै दोस्रो चरणबाट म्यान अफ दि म्याचको व्यवस्था समेत रहेको बताइएको छ ।

मुनाल युवा क्लब र मुनाल खेलकुद विकास समितिको आयोजनामा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा विगत वर्षहरूमा झै यो वर्ष पनि केलाङ मेलामा खेलकुदका साथै सॉस्कृतिक कार्यक्रम पनि सन्चालन गरिने अध्यक्ष मोहन सिंह सिंगकले जानकारी दिए ।

बैशाख २७ गते स्थानीय जातजातिको पहिचान झल्कने झॉकिहरू यालाङ,केलाङ,डम्फुनाच,साकेला,संगीनी,नौमती बाजा,लोक दोहोरी,मारुनी नाच,छेलो हान्ने,तोङ आप्मा,डोरी तान्ने तथा खुल्ला नृत्य प्रतियोगिता सन्चालन हुने बताइएको छ।

मेलामा फेदाप गाउँपालिकाको आर्थीक सहयोग रहेको छ ।

Post Comments