News आरके एफसीलाई तेस्रो वार्ड अध्यक्ष कपको उपाधि
सुरज राना मगर

देवदह । यहाँ सम्पन्न तेस्रो वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि आरके एफसीले जितेको छ । फाइनलमा कुँवरवर्ती फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै आरके एफसी च्याम्पियन बनेको हो ।

देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । टाईब्रेकरमा भने आरके एफसीले कुँवरवर्तीमाथि ३–२ को जित निकाल्दै विजेता बन्न सफल भयो ।

विजेता बनेको आरके एफसीले उपाधिसहित नगद ५५ हजार हात पार्यो भने उपविजेता कुँवरवर्तीले ३० हजारसहित ट्रफी र मेडलमा चित्त बुझायो ।

कुँवरवर्तीका कप्तान जमिर मियाँ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । आरके एफसीका संजय रोका उत्कृष्ट गोलरक्षक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार सयपत्री युवा क्लबका लोक पुनले हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी देवदह–१० का वार्ड अध्यक्ष यक बहादुर बिक, आयोजक शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेका अध्यक्ष मोहन थापा लगायतले पुरस्कृत गरेका थिए । गत फागुन १ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका कुल २२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments