News मच्छिन्द्रलाई मोफसलको पहिलो उपाधि
रमेश समदर्शी

झिलझिले । ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जित्न सफल भएको छ । मच्छिन्द्रका लागि लिगपछि मोफसलको यो पहिलो उपाधि समेत हो ।

झिलझिले स्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा मच्छिन्द्रले थ्रीस्टारलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई जितका लागि निर्णायक बन्यो । खेलको दोस्रो मिनटमा मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्र्रीस्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । जसलाई बिमल घर्ती मगरले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए । त्यस्तै विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद ६ लाख हात पार्यो भने उपविजेता थ्रीस्टारले ३ लाखमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका कप्तान बिक्रम लामा चुनिए । उनले नगद ५० हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता पनि थ्रीस्टार कै सञ्जोग राई भए । प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद २५ हजार पाए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ बने भने उत्कृष्ट डिफेन्डर पनि मच्छिन्द्रकै पिटर सेगुन चुनिए । त्यसैगरी उत्कृष्ट मिडफिल्ड थ्रीस्टारका रुपेश केसी बन्दा उत्कृष्ट फरवार्ड मच्छिन्द्रका रेजिन सुब्बा घोषित भए । उत्कृष्ट प्रशिक्षक पनि मच्छिन्द्र कै प्रवेश कटवाल घोषित भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २० हजार रुपैयाँ पाए । सोही अवसरमा उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो ।

उनीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमेश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

कार्यक्रममा (एन्फा) अध्यक्ष शेर्पाले सताक्षी गोल्डकपको मुख्य प्रायोजक आफूले व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरे । उनले शिवसताक्षी नगरपालिका र एन्फाले सताक्षी गोल्डकपलाई अझ भव्य र व्यवस्थित बनाउने जिकिर गरे । उपाध्यक्ष नेम्वाङले मोफसलका गोल्डकपलाई आगामी दिनमा एन्फाले परिस्कृत गर्दै लैजाने बताए ।

Post Comments