
हेटौडा । घरेलु टोली विजय युथ क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा विजय युथले विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । पिप्ले रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको ५२औं मिनटमा पेपेले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
निर्णायक गोलकर्ता पेपे खेलको म्यान अफ द म्याच समेत चुनियो । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ २८ गते शनिबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र एभनिर एफसी, क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि जेठ ३० गतेका दिन हुनेछ ।