
हेटौडा । यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत बुधबार हुने भनिएको तेस्रो क्वाटरफाइनल खेल स्थगित भएको छ ।
खेलतालिका अनुसार बुधबार घरेलु टोली विजय युथ क्लब र नव जनजागृति युवा क्लब भिड्ने कार्यक्रम थियो । तर वर्षाले मैदान खेल्न योग्य नभएपछि सो खेल बिहीबार बिहानका लागि सारिएको आयोजकले जनाएको छ । सो खेल बिहीबार बिहान ८ः३० बजे हुने आयोजकले जानकारी दियो ।
त्यस्तै बिहीबार नै हुने चौथो क्वाटरफाइनलतर्फ एभनिर एफसी, क्यामरुन र चर्च ब्वाईज युनाइटेडबीचको खेल पनि बेलुका ४ बजेदेखि शुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
आउँदो जेठ ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीलाई एक थान बुलेट बाईक पुरस्कार पनि रहेको छ ।