News झापाका मार्की खेलाडी बने अन्जन
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिगमा यसै सिजनदेखि खेल्ने तयारीमा रहेको नयाँ टोली झापा फुटबल क्लबले नेपालका चर्चित फरवार्ड अन्जन बिष्टलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।

क्लबले आइतबार एक कार्यक्रमको आयोजना गरि बिष्टलाई सार्वजनिक गरेको हो । कार्यक्रममा झापा एफसीका महासचिव सुजन गौतम र अन्जन बिष्टले सम्झौतापत्रमा हस्ताक्षर गरि आदान प्रदान गरे ।

स्मरणीय छ, अन्जनले नेपालको पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिगको पहिलो संस्करणमा ललितपुर सिटी एफसीका लागि खेलेका थिए ।साथै शनिबार मात्र सम्पन्न प्रतिष्ठित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा उनले यस सिजन मनाङ मस्र्याङ्दी क्लबका लागि खेल्दै कप्तानी समेत गरेका थिए । उनको कप्तानीमा मनाङले यस सिजन लिगतालिकाको शिर्ष पाँचमा रहेर लिगको समापन गर्यो ।

झापामा आवद्ध भएपछि विष्ट उत्साहित देखिए । कार्यक्रममा उनले झापाली क्लबको फुटबल विकासप्रतिको राम्रो दृष्टिकोण कै कारण आफूले यो क्लबलाई रोजेको बताए । साथै क्लबका लागि यस सिजन राम्रो गर्ने र सफलता पनि दिलाउन समेत उनले बताए ।

उता अन्जनलाई मार्की खेलाडीका रुपमा क्लबमा आवद्ध गर्न पाउँदा झापा एफसीका सबै सदस्यहरु पनि खुशी र उत्साहित रहेको महासचिव गौतमले बताए । “उनी (अन्जन) जस्ता खेलाडीलाई क्लबमा भित्राउन पाउँदा हामी निकै खुशी छौं । उनलाई झापा फुटबल क्लबमा स्वागत छ । उनीसँगको सहकार्यले हाम्रो फुटबलको यात्रा थप अगाडी बढ्ने हामीले विश्वास लिएका छौं ।” गौतमले भने ।

यस सिजन नेपाल सुपर लिगमा तीन नयाँ टोली गरी कुल १० टोलीहरुले सहभागिता जनाउँदै छन् । नयाँ तीन टोलीहरुमा झापा बाहेक स्र्पोटिङ इलाम डि मेची र बिरगंज युनाइटेड पनि रहेका छन् ।

Post Comments