काठमाडौं । टिपटो स्पोर्टस् एकेडेमीको आयोजनामा जेठ २ र ३ गते तारकेश्वरस्थित शेषमतीमा रहेको टिपटो स्पोर्टस् हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ।
आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गर्दै फुटबल खेलको विकास, विस्तार तथा युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।
सन् २०२१ मा स्थापना भएको टिपटो स्पोर्टस् एकेडेमीले विभिन्न प्रशिक्षण कार्यक्रम, फुटबल प्रतियोगिता तथा सामाजिक गतिविधिमार्फत नेपाली फुटबलमा योगदान पुर्याउँदै आएको छ। यसपटकको कार्यक्रम विशेषगरी विभिन्न उमेर समूहका खेलाडीहरूको फुटबल कौशल विकासमा केन्द्रित रहने आयोजकको भनाइ छ।
कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जापानका राष्ट्रिय थ्री अन थ्री फुटबल खेलाडी यासुहिरो नाबेटा नेपाल आएका छन्। उनले प्रतियोगिताअन्तर्गत सञ्चालन हुने प्रशिक्षण सत्रमा खेलाडीलाई प्रशिक्षण दिने आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत जेठ २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म फुटबल क्लिनिक सञ्चालन हुनेछ। त्यस्तै, जेठ ३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म च्याम्पियनसिप आयोजना गरिनेछ।
क्लिनिकमा नेपालभरका विभिन्न एकेडेमी तथा विद्यालयबाट यू–१२, यू–१४ र यू–१६ उमेर समूहका करिब १५० खेलाडीको सहभागिता रहनेछ। साथै, च्याम्पियनसिपमा यू–१४ र यू–१६ समूहका ३२ टोली सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिनेछ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न