
नयाँबस्ती । चर्चित र अन्भवी खेलाडीहरुलाई लिएर मैदानमा उत्रिएको रोदिज्ञा स्पोर्टस गैंडाखोला–११ यहाँ जारी थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अभिषेक चर्च, रजहरको चुनौति २–० ले पन्छाउँदै गैंडाखोला उपाधि नजिक पुगेको हो । भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानमा भएको खेलको २९औं मिनटमा प्रयास तामाङको गोलबाट गैंडाखोलाले खेलमा अग्रता बनाएको थियो ।
त्यस्तै दोस्रो हाफको २२औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवराज गुरुङले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरेका थिए । खेलमा अभिषेक चर्चले पनि गोलको केही प्रयास गरेको थियो तर सफल भने भएन् ।
खेलमा गैंडाखोलाका प्रयास तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । गैंडाखोलाले अब उपाधिका लागि चैत ७ गते शनिबारका दिन भैरव एफसी, नवलपरासीसँग फाइनल खेल्नेछ ।
युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर महानगरपालिका वार्ड नम्बर –२४ को सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सह–सचिव रमेश पुरीले बताए ।