
मच्छिन्द्र क्लब हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा भएको खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा आफ्नो नाम लेखाएको हो ।
फाइनल प्रवेशका लागि मच्छिन्द्र सेमिफाइनलमा आयोजकको मकवानपुर–११ सग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्रको जीतमा एकमात्र निर्णायक गोल युवा फरवार्ड राजेश परियारले गरे । उनले खेलको २५ औं मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपैया हात पारे ।
प्रतियोगिताअन्तर्गत् मंगलबार विदेशी क्लब अफ्रिक रुटस एसोसिएसन क्यामरुन र बागमती युवा क्लब सर्लाहीको टोलीवीच खेल हुनेछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।