सिद्धार्थनगर । सिद्धार्थ फुटबल एकेडेमी, सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा सम्पन्न दोस्रो सिद्धार्थ एफए कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि चिया चाह क्लबले जितेको छ ।
कार्तिक २० गते शुक्रबार सम्पन्न फाइनलमा चिया चाहद्वारा युरी एफसी २–१ ले पराजित । चिया चाहको जितमा दर्शन बिक र बिजन थापाले गोल गरे । पराजित युरीका लागि जितेश गुरुङले गोल गरेका थिए ।
विजेता बनेको चिया चाहले उपाधिसहित नगद ६० हजार हात पार्दा उपविजेता युरीले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
चिया चाहका अस्मित शर्मा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिदा उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि चिया चाह कै निशान रानाले हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने भैरव एफसीका सुहन आलेले प्राप्त गरे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष छेदीलाल श्रीवास्तव, विशिष्ठ अतिथी राष्ट्रिय प्रशिक्षक यम प्रसाद गुरुङ, वरिष्ठ समाजसेवी अमित गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टी, सिद्धार्थनगरका नगर सभापति नरेश अघिकारी, खेल संयोजक प्रिन्स गुरुङ, माछापुच्छ्रे युवा क्लबका अध्यक्ष युवराज थापा, सिद्धार्थनगर नगरपालिका २ का पूर्व वार्ड अध्यक्ष तथा सामाजिक अभियन्ता दिपक थापा, अनुप थापा लगायतले पुरस्कृत गरेका थिए ।