पिपरीचापा । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा सम्पन्न तेस्रो गौतम बुद्ध कप खुला नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि साविक विजेता रेन्बो एकेडेमी, कञ्चनले जितेको छ ।
उपाधि रक्षासँगै लगातार दोस्रोपटक उपाधि जित्ने क्रममा रेन्बोले आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र, पिपरीचापालाई २–१ ले हरायो । रेन्बोको जितमा मिलन आले र आशिष गुरुङले गोल गरे भने पराजित गौतम बुद्धका लागि सबी गुरुङले गोल फर्काएका थिए ।
विजेता बनेको रेन्बोले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्दा उपविजेता बनेको आयोजक गौतम बुद्धले ७२,२२२ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी आयोजक गौतम बुद्ध कै सुमित मल्लाह घोषित भए । उनले त्यसवापत एक थान माउन्टेल बाइसाईकल हात पारे । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक रेन्बोका भिम मगर बन्दा उत्कृष्ट डिफेन्डर पनि रेन्बो कै आशिष पुन बने ।
उदियमान खेलाडी आयोजक गौतम बुद्धका प्रबिन बिक चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार विजेता टोली रेन्बोका सुरज थारुले हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगर, आयोजक संस्थाका अध्यक्ष कमल परियार, उपाध्यक्ष रोशन पुन लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको तेस्रो संस्करण पनि भव्यताका साथ सफल बनाउन सहयोग पुर्याउने सबैलाई अध्यक्ष कमल परियारले आभार र धन्यवाद प्रकट गरे । साथै अर्को संस्करण थप नयाँ व्यवस्थापन र प्रस्तुतीका साथ आयोजना गर्ने योजना समेत सुनाए ।
प्रतियोगितामा रुपन्देहीका कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।