कैलारी । कैलारी गाउँपालिका–४, के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत उद्घाटन खेलमा वनदेवी समन्वय युवा क्लबले न्यू खुटिया चारपाते क्लबलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
प्रतिस्पर्धात्मक खेलमा वनदेवीका बिनायक चौधरीले २७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको छ मिनेटपछि चारपातेका जीवन शाहीले बराबरी गोल गरेपछि पहिलो हाफ १–१ मा सकिएको थियो। दोस्रो हाफमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि थप गोल हुन सकेन।
निर्धारित समय बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा वनदेवी ३–० ले विजयी भयो। वनदेवीका गोलरक्षक जीवन चौधरीले लगातार दुई पेनाल्टी बचाउँदै टोलीको जित सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेले। उनी प्लेयर अफ द म्याच समेत घोषित भए।
न्यू युथ सुन्दर शक्ति क्लब (एनवाईएसएससी), कैलारी–४ को आयोजनामा भइरहेको प्रतियोगिताको मुख्य प्रवर्द्धक कैलारी गाउँपालिका तथा सह–प्रवर्द्धक वडा नम्बर ४ कार्यालय रहेका छन्। मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि., धनगढी–५, हसनपुर, कैलाली रहेको छ।
अटवारी पर्व तथा हरितालिका तीजको अवसरमा आयोजना गरिएको प्रतियोगिता भदौ २० देखि ३१ गतेसम्म सञ्चालन हुनेछ। पुरुषतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा महिलातर्फ विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
क्लबका अध्यक्ष बि.एल. चौधरीका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा फुटबलको विकाससँगै युवालाई खेलकुदमा प्रोत्साहित गर्नु हो। प्रतियोगिताको नारा ‘खेलकुद नै विकासको आधार हो’ रहेको छ।
प्रतियोगिताका खेलहरू गोलनेपाल डटकमबाट प्रत्यक्ष प्रसारण भइरहेका छन्।
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक