बुटवल । रुपन्देही जिल्लाको बुटवल उपमहानगरलाई कर्मथालो बनाएर बिगत लामो समयदेखि सामाजिक कार्य र खेलकुदमा सक्रिय युवाहरुको समूह फुलबारी गाईज, बुटवलको आयोजनामा रेडबुल चौथो रुपन्देही फुटसल कप खुला नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।
आयोजकद्वारा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी यही साउन २९, ३० र ३१ गतेका दिन गरी तीन दिने खुला फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष तेज रानाले बताए ।
खेलकुदको माध्यमबाट राष्ट्रियस्तर मै फुटसलको स्वस्थ्य प्रतिस्पर्धा, सामाजिक एकता र भाईचारा कायम गर्ने उद्देश्यका साथ प्रतियोगिताको चौथो संस्करण आयोजना गर्न लागिएको अध्यक्ष तेज रानाले बताए ।
विश्वचर्चित इनर्जी डिङ्क रेडबुलले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक सरोज दर्लामीले जानकारी दिए ।
त्यसबाहेक विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
साथै प्रतियोगितामा सहभागिताका लागि इच्छुक टोलीहरुलाई टिमदर्ता गर्न आउँदो साउन २७ गतेसम्म खुला गरिएको पनि आयोजकले जानकारी दियो ।