टीकापुर । कैलालीको टीकापुरस्थित वीरेन्द्र खेलमैदानमा जारी “युथ अफ टीकापुर प्रथम महिला खुला फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत दोस्रो दिनको खेलमा सैपाल युथ क्लबले लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गरेको छ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको सैपाल युथ क्लबले पहिलो हाफमै दुई गोल गर्दै खेलमा स्पष्ट पकड बनाएको थियो। खेलको १०औं मिनेटमा तृप्ती कपाडीले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाइन् भने २०औं मिनेटमा सीता भुलले अर्को उत्कृष्ट गोल थप्दै सैपालको अग्रता दोब्बर बनाइन्। दोस्रो हाफमा लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टरले खेलमा फर्कने प्रयास गरे पनि सैपालको मजबुत डिफेन्स र उत्कृष्ट तालमेलका कारण गोल गर्न सफल हुन सकेन। निर्धारित समयसम्म थप गोल हुन नसक्दा सैपालले २–० को सहज जित हात पार्यो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेकी सैपाल युथ क्लबकी सीता भुल “प्लेयर अफ द म्याच” घोषित भइन्।
यता प्रतियोगिताअन्तर्गत १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीच हुने तय भएको खेल भने प्राविधिक कारणले एक दिनका लागि स्थगित गरिएको आयोजकले जनाएको छ। अब उक्त खेल वैशाख ३० गते दिउँसो १ बजे वीरेन्द्र खेलमैदानमा सञ्चालन हुनेछ।
महिला खेलाडीहरूको क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा पश्चिम नेपालका विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना युथ अफ टीकापुरले गरेको हो।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिताको उद्घाटन वैशाख २७ गते सम्पन्न भएको हो भने फाइनल खेल जेठ ३ गते दिउँसो ३:३० बजे सञ्चालन हुनेछ।
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक