नयाँगाउँ । रुपन्देहीमा सम्पन्न प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि भैरव स्पोर्टस क्लब, नवलपरासीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा भैरवले समपुर्ण युवा क्लब, सुपौलीलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
सिद्धार्थनगर–१, नयाँगाउँ स्थित पक्लिहवा माविको खेलमैदानमा सम्पन्न खेलमा अग्रता समपूर्णले लिएको थियो । सुगम ठकुरीको गोलबाट अग्रता बनाएको समपुर्णले त्यो अग्रता जोगाउन सकेन । उता भैरव स्पोर्टसका लागि मनिष थारु र विज्ञान गुरुङले गोल गर्दै टोलीको जित पक्का गरे ।
विजेता बनेको भैरव स्पोर्टसले उपाधिसहित नगद १ लाख हात पार्दा उपविजेता समपुर्णले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । समपुर्णका सुगम ठकुरी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद २५०० र ट्रफी हात पारे ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक समपुर्णका सरोज पुन बन्दा उत्कृष्ट डिफेन्डर भैरवका सुजित चौधरी चुनिए । उत्कृष्ट मिडफिल्डर पनि भैरवका विज्ञान गुरुङ बन्दा उत्कृष्ट फरवार्ड भैरव कै मनिष थारुले हात पारे । त्यस्तै उत्कृष्ट प्रशिक्षक समपुर्णका कृष्ण गुरुङ बन्दा सर्वश्रेष्ठ खेलाडी समपुर्णका किरन पुन घोषित भए । उत्कृष्ट बनेका सबैले ७०००–७००० हात पार्दा सर्वश्रेष्ठ खेलाडीलाई नगद १० हजार र ट्रफीसहित पुरस्कृत गरियो ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खान, सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष उज्ज्वल पोखरेल, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँका अध्यक्ष याम बहादुर थापा (माईला), खेल संयोजक तेजेन्द्र गुरुङ (शक्ति) लगायतले पुरस्कृत गरेका थिए ।