भलुही । संघार समुह, भलुहीको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम संघार कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक संघार समूहले विजयी शुरुवात गरेको छ ।
देवदह–९, भलुही खेलमैदानमा भएको उद्घाटन खेलमा संघार समुहले भैरव फुटबल क्लबलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । संघारको जितमा मन्जिल आले र समिर सुनारले गोल गरे । खेलमा संघार कै मन्जिल आले म्यान अफ दि म्याच बने ।
यो जितसँगै संघार समुह क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर २८ गते आइतबारको खेल सिद्धार्थ फुटबल क्लब र देवदह ब्वाईज बीच हुने खेल संयोजक दिपक खत्रीले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी देवदह नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष मोहन जिसी, आयोजक संघार समूहका अध्यक्ष पुकार केसी लगायतले संयुक्त रुपमा गरेका थिए ।
संघार समुह, भलुही, रुपन्देहीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने पुष ९ गतेका दिन हुनेछ ।