काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आपतकालिन बैठकले साफ यु–१९ महिला च्याम्पियनसिप फागुन महिनामा पोखरामा हुने जानकारी दिएको छ । त्यसबाहेक महिला फ्रेन्चाईज फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय समेत भएको एन्फाले जनाएको छ ।
त्यस्तै फिफा फरवार्ड कार्यक्रम अन्तर्गत धुलिखेल र धनगढीमा नयाँ कृत्रिम घाँसे मैदान निर्माण गरिने भएको छ । त्यसबाहेक सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदान पनि परिवर्तन गरिने एन्फाले जनाएको छ ।
बैठकले आगामी पौष २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ । साथै राष्ट्रिय लिगमा सहभागिता जनाउन संघको विधान अनुसार इच्छुक सबै ए डिभिजन क्लबहरुका लागि टिमदर्ता खुला गर्ने निर्णय गरिएको समेत एन्फाले विज्ञप्तीमार्फत जनाएको छ ।
त्यस्तै आगामी जनवरीमा थाइल्याण्डमा हुने साफ महिला तथा पुरुष फुटसल च्याम्पियनसिपका लागि दुवै टोलीलाई ७२,५६,३४५ रुपैयाँ पर्ने गरी कुल १,४५,१२,६९० रुपैयाँ बजेट अनुमोदन गर्ने निर्णय समेत भएको एन्फाले जनाएको छ ।
विस्तृत विज्ञप्तीमा हेर्नुहोसः
