
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बा बिहीबार नेपाल आइपुग्ने भएकी छिन् । ग्रीसको निस अट्रोमिटौंबाट व्यवसायीक फुटबल खेलिरहेकी अन्जिला राष्ट्रिय टोलीमा सामेल हुन बिहीबार नेपाल आउन लागेकी हुन् ।
त्यस्तै फ्रान्सको शिर्ष लिगमा गुइनग्याम्पका लागि खेलेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी भने केही दिनपछि मात्र नेपाल आइपुग्ने बताइएको छ । फ्रेन्च लिग समापन भए तापनि साबित्रा केही कार्यक्रम विशेषका लागि बेलायत भ्रमणमा रहेकी छिन् ।
एएफसी महिला एसियन कप छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आउँदो मई ३० र जुन २ तारीखका दिन बलियो थाइल्याण्डसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । साथै थाइल्याण्ड विरुद्धको दुवै खेल बैंककमा हुने बताइएको छ ।
स्मरण रहोस, एएफसी महिला एसियन कप छनौटतर्फ समूह एफमा रहेको नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ । समूहको शिर्ष टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट हुनेछ ।