ANFA ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
गोलनेपाल

मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, सॉवा स्थित तेम्बामा मंसिर २ देखि ६ गतेसम्म दोस्रो अलैँची कप पुरूष फुटबल प्रतियोगिता सहित ‘फङफङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला २०८३’ आयोजना हुने भएको छ।

मिक्वाखोला क्षेत्रका पर्यटकीय स्थल, स्थानीय उत्पादन तथा अलैँचीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको मेलामा फुटबल प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

मेला आयोजक समितिका संयोजक विजय सॉवाका अनुसार स्थानीय पर्यटन र उत्पादनको प्रचारप्रसार गर्दै ताप्लेजुङको पहिचानका रूपमा रहेको अलैँचीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको छ।

अलैँचीको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँदै आयोजकले गत वर्षदेखि फुटबल प्रतियोगितामा नगदको सट्टा अलैँची पुरस्कार दिने अभ्यास सुरु गरेको थियो। यस वर्ष पनि उक्त अभ्यासलाई निरन्तरता दिइएको छ।

प्रतियोगिताको विजेता टोलीले ३ लाख २ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ५० हजार ८३ रुपैयाँ बराबरको अलैँची पाउने संयोजक सॉवाले जानकारी दिए ।

खेलकुद मार्फत स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो अभ्यासले ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीको महत्त्व उजागर गर्नुका साथै किसान तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मेलामा लोपोन्मुख सांस्कृतिक प्रस्तुतिका साथै राष्ट्रियस् स्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। खेलकुद, पर्यटन र संस्कृतिलाई एकैसाथ जोडेर आयोजना गर्न लागिएको मेलाले मिक्वाखोला क्षेत्रको पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।

यसअघि फङफङदेन झरना पर्यटन विकास समितिले अलैँचीको प्रवर्द्धनका लागि ताप्लेजुङकै ठूलो फुटबल प्रतियोगिताका रूपमा परिचित तापलेजुङ गोल्डकपमा ‘प्लेयर अफ द म्याच’लाई अलैँची पुरस्कार दिने प्रायोजन समेत गरेको थियो।

Post Comments