काठमाडौं । समूह चरणको शरुवाती खेलमा भुटानसँग रोकिएको नेपालले त्यसपछि भने उत्कृष्ट प्रदर्शन गर्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्यो । घरेलु दर्शकको बलियो साथ र समर्थन पाएको नेपाल फाइनलमा भने फेरि बंगलादेशससँग चुक्यो ।
दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा बुधबार नेपालले साविक विजेता बंगलादेशससँग १–२ को हार बेहोर्दै घरेलु मैदानमा ऐतिहासिक उपाधि जित्ने योजना लगातार दोस्रोपटक गुमाउन पुग्यो ।
बुधबार मोनिका चक्माको गोलबाट बंगलादेशले खेलमा अग्रता बनाएको थियो । तर, ५६औं मिनटमा प्रिती राईको सुन्दर पासमा अमिषा कार्कीले सटिक गोल गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याईन् । यद्यपि खेलको अन्तिमतिर ८१औं मिनटमा रितु चक्माले दोस्रो तथा निर्णायक गोल गर्दै घरेलु टोली र घरेलु समर्थकलाई निराश तुल्याईन् ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा घरेलु मैदान मै लगातार दोस्रोपटक नेपालले बंगलादेश कै हातबाट हार बेहोर्न पुग्यो । यसअघि सन् २०२२ मा सम्पन्न गत संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई ३–१ ले हराउँदै पहिलोपटक उपाधि जित्न सफल भएको थियो ।
प्रतियोगितामा सुस्त शुरुवातसँगै शानदार फाइनल यात्रा तय गरेको नेपाली टोलीले ऐतिहासिक उपाधि जित्ने सपना भने फेरि निराशापुर्ण रुपमा दबिएको छ ।