
बुटवल । दि एक्स लिजेण्ड क्लब रुपन्देहीमा जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको सातौं प्रिक्वाटरफाइनलतर्फ एक्स लिजेण्डले बिग बुद्ध क्लब, सुनवललाई सड डेथमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ एक्स लिजेण्डका लागि गोविन्द थापाले गोल गरेका थिए भने बिग बुद्धका लागि बिमर मगरले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने एक्स लिजेण्डले नतिजा ६–५ ले आफ्नो पक्षमा पार्यो ।
खेलमा एक्स लिजेण्डका गोलरक्षक युगल थापा मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २९ गते मंगलबारको अन्तिम प्रिक्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र समपुर्ण युवा क्लब, सुपौलीबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।