
निजगढ । प्रभावशाली जित हात पार्दै यहाँ सम्पन्न तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि रतनपुर युनाइटेड क्लबले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनलमा रतनपुरले बिरगंज युनाइटेड क्लबलाई ४–२ ले हराउँदै उपाधिमाथि आफ्नो पकड बनाउन सफल भएको हो । बुद्धचोक खेलमैदानमा भएको उपाधि भिडन्तमा रतनपुरका लागि समिर तामाङ र आनन्द गुरोले समान दुई–दुई गोल गरे । पराजित बिरगंजका लागि भने सागर चौधरी र बिक्रम लामाले गोल फर्काएका थिए ।
विजेता बनेको रतनपुरले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्यो भने उपविजेता बिरगंजले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । रतनपुरका समिर तामाङ फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद २ हजार र ट्रफी हात पारे ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक रतनपुरका अभिषेक चौधरी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार समान ४–४ गोल गरेका बिरगंजका सागर चौधरी र रतनपुरका आनन्द गुरोले संयुक्त रुपमा हात पारे । उत्कृष्ट बनेका सबैले ५–५ हजारको दरले पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने योङ स्टार युनाइटेड क्लबका सुदिप मोक्तान घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । उदियमान खेलाडी पनि योङ स्टार कै पाल्देन लामा बने । उनले त्यसवापत साइकल हात पारे ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।