News सुर्यपुर गोल्डेन इमिनेन्ट २६औं माडी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

माडी । संघर्षपुर्ण जित निकाल्दै सुर्यपुर फुटबल क्लब यहाँ जारी गोल्डेन इमिनेन्ट २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकअ ाउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ सुर्यपुरले पेनग्विन भरतपुर २४ खेलकुद विकास समितिलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

वसन्तपुर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयतर्फ सुर्यपुरका लागि सुजन श्रेष्ठ र बिशाल स्याङ्तनले गोल गरे । उता भरतपुर २४ का लागि भने दुवै गोल समिर श्रेष्ठले गरेका थिए ।

पेनाल्टी शुटआउटमा भने सुर्यपुरले भरतपुर २४ माथि ३–० को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । खेलमा सुर्यपुरका गोलरक्षक अरुण थिङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ८ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल अफ्रिकी टोली बुर्किना फासो र घरेलु टोली माडी–११ बी च हुने आयोजकले जानकारी दियो ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

 

Post Comments