
निजगढ । बिरगंज युनाइटेड क्लब र बेङखडी युवा क्लब जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन ।
सोमबार बुद्धचोक खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलतर्फ बिरगंजले बकैया गाउँपालिकालाई ५-० को अन्तरले हरायो । बिरगंजको जितमा बिकी चौधरीले दुई गोल गर्दा सागर चौधरी, अर्मान चौधरी र रञ्जय चौधरीले समान एक-एक गोल गरे । खेलमा दुई गोल गरेका बिरगंजका बिकी चौधरी म्यान अफ द म्याच चुनिए ।
त्यस्तै तेस्रो क्वाटरफाइनलतर्फ बेङ्खडीले घरेलु टोली योङ स्टार युनाइटेड क्लब (बी) लाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगुएपछी बेङ्खडीले पेनाल्टीमा ४-१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो । खेलमा बेङखडीका अनिल मगर म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ ८ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर र रतनपुर युनाइटेड क्लब बीच हुने आयोजकले जानकारी दियो ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।