
मनहरी। दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप मनहरी गाउँपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि एफसी मनहरी ७ ले जितेको छ ।
फाइनल खेलमा मनहरीले वडा नम्बर ७ कै चुरियामाई युवा क्लब, रमौलीलाई ३–१ को गोल अन्तरले पराजित गरी उपाधि जित्न सफल भएको हो ।
मनहरीको जितमा कपिल मुक्तान, समिर स्याङ्तान र आन्द्रेस स्याङ्तानले समान एक–एक गोल गरे । उता चुरियामाईका लागि भने किरण राउतले एक मात्र गोल फर्काएका थिए ।
बिजेता बनेको मनहरी ७ ले उपाधिसहित नगद ५० हजार ५५५ रुपैयाँ हात पार्यो भने उपबिजेता रमौलीले नगद २५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ मनहरीका मनिष पौडेल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट गोलरक्षक मनहरी कै अनुप तितुङ बन्दा उत्कृष्ट डिफेन्डर रमौलीका अभिषेक सुवेदी चुनिए । त्यस्तै उत्कृष्ट फरवार्ड मनहरीका मिलन स्याङतन घोषित भए ।
प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई बागमती प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुरस्कृत गरेकी थिईन् ।
वडा खेलकुद विकास समिति, मनहरी गाउँपालिका २ को आयोजनामा पौष २६ गतेदेखि सुरु भएको प्रतियोगितामा मनहरी गाउँपालिकाका बिभिन्न वडाका १६ टिमको सहभागिता रहेको थियो ।