
माडी । आइतबारदेखि शुरु भएको २६औं माडी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा हनामी बिएफसी, चितवनले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा बिएफसीले अभिषेक चर्च, रजहरलाई पेनाल्टी शुटआउटमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए ।
बसन्तपुर खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ बिएफसीका लागि राम शाही, जितेश गुरुङ्ग र सजिन थापाले गोल गरे भने अभिषेक चर्चका लागि बिसन गुरुङ्ग, सुजित बुढाथोकी र सुमित श्रेष्ठले गोल गरेका थिए ।
पेनाल्टी शुटआउटमा भने बिएफसीले अभिषेक चर्चमाथि ३–१ को जित निकाल्न सफल भयो । यो जितसँगै बिएफसी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा बिएफसीका गोलरक्षक मनोज गुरुङ्ग म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगि ता अन्तर्गत माघ ६ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल पेनग्वीन भरतपुर २४ खेलकुद विकास समिति र सुर्यपुर फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।
बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।