News आयोजक जेनिथलाई उपाधि
सुरज राना मगर

सुनवल । प्रथम जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक जेनिथ युथ क्लब, किर्तिपुरले जितेको छ । बिहीबार सम्पन्न फाइनलमा जेनिथले सुनवल–३ एफसीलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

सुनवलको किर्तिपुर स्थित आयोजक क्लब कै खेलमैदानमा भएको खेलमा जेनिथका लागि आशिष श्रेष्ठ र अनिल खड्काले गोल गरे । पराजित सुनवल–३ का लागि भने रोजल दहालले गोल गरेका थिए ।

विजेता बनेको जेनिथले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता सुनवल–३ ले ५५,५५५ रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

आयोजक जेनिथका अनिल खड्का फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उत्कृष्ट गोलरक्षक पनि आयोजक जेनिथ कै कप्तान तथा गोलरक्षक शैलेश ठकुरी बन्दा उत्कृष्ट डिफेन्डर सुनवल–३ का कमल भट्टराई घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार बिग बुद्ध एफसीका सबी गुरुङ्गले हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने जेनिथका सुजित बुढाथोकी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) लगायतले पुरस्कृत गरेका थिए ।

जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुर, नवलपरासीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments