
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वार्षिक रुपमा दिंदै आएको प्रतिष्ठित दि बेस्ट फिफा फुटबल अवार्डको पुरुषतर्फ ब्राजीलका भिनिसियस जुनियर र महिलातर्फ स्पेनकी आइताना बोनमती वर्ष खेलाडी चुनिएका छन् । कतारको दोहामा मंगलबार अबेर राती सम्पन्न कार्यक्रमका बीच भिनिसियस र बोनमती फिफाको बर्ष खेलाडी बनेका हुन् ।
भिनिसियसले ब्राजीलका लागि त्यति उपलब्धी हासिल गर्न नसके तापनि सिजन २०२३–२४ मा आफ्नो क्लब रियल मेड्रिडका लागि उनी दमदार रहे । रियललाई घरेलु लिग र च्याम्पियन्स लिग जिताउन उनको महत्वपूर्ण रह्यो । त्यसक्रममा उनले २४ गोल गर्नुका साथै ११ एसिस्ट पनि मिलाएका थिए ।
भिनिसियसले यो अवार्ड जित्ने क्रममा यस वर्षको बेलन डि’ओर विजेता रेड्री र जुड बेलिङ्घमलाई पनि पारे । म्यानचेष्टर सिटी र स्पेनका रोड्री दोस्रो स्थानमा रहँदा रियल मेडिङ र इङल्याण्डका स्टार बेलिङ्म तेस्रो स्थानमा रहे ।
पुरुषतर्फ उत्कृष्ट गोलरक्षकको अवार्ड अर्जेन्टिना र एस्टन भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले हात पारे । फिफा वर्ष प्रशिक्षक भने रियल मेड्रिडका कार्लो एन्सेलोट्री चुनिए । प्रतिष्ठित फिफा पुस्कास अवार्ड अर्जेन्टिना र म्यानचेष्टर युनाइटेडका युवा स्टार अलेजान्द्रो गर्नाचोले हात पारे ।
त्यस्तै महिलातर्फको वर्ष खेलाडी स्पेनकी स्टार मिडफिल्डर आइताना बोनमति चुनिईन् । यो अवार्ड उनले लगातार दोस्रोपटक हात पारेकी हुन् । त्यसो त यसै वर्षको बेलन डि’ओर अवार्ड पनि महिलातर्फ बोनमतिले नै जितेकी थिईन् ।
स्पेनलाई गत वर्ष सम्पन्न फिफा महिला विश्वकपको उपाधि जिताउन २६ वर्षिय बोनमतीको महत्वपूर्ण योगदान रह्यो । त्यतिबेला उनले सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड समेत जितेकी थिईन् ।
महिलातर्फको उत्कृष्ट गोलरक्षकको अवार्ड अमेरिकाकी एलिसा निहरले हात पारिन् । उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड भने इङल्याण्डकी उम्मा हायेजले हात पारिन् ।