![](https://www.goalnepal.com/np/uploads/news/1731503120.jpg)
पॉचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा जारी ऐतिहासिक बराहक्षेत्र पूर्णीमा मेलाको अवसरमा आयोजित तेह्रौ बराहक्षेत्र खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगितामा नेम्बाङ केलाङ समाज र तुम्वेवा फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेका छन ।
बुधबार सत्यहाङमा मा.वि.को खेल मैदानमा सम्पन्न दोस्रो क्वाटर फाइनलमा त्रीवेनू युथ क्लबलाई शुन्यका विरूद्ध चार गोल गर्दै नेम्बाङ केलाङ सेमीफाइनल पुगेको हो । त्यस्तै तेस्रो क्वाटर फाइनलमा फाक्चुवा फासिङला आयोजकले दिएको समय सीमा भित्र खेल मैदानमा उपस्थित नभएपछि वाक ओभर मार्फत तुम्वेवा फुटबल क्ल्बले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
तुम्वेवाले कार्तिक ३० गते सेमिफाइनलमा पहिलो क्वाटर फाइनल विजेता नाम्तोक क्लवसंग खेल्नेछ । कार्तीक २९ गते बिहीबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक टु स्टार क्लब र नुमाफुङ युथ क्लब भिड्नेछन ।
आठ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद एक लाख दश हजार सहित ट्रफि र उपविजेताले पचहत्तर हजार र ट्रफि प्राप्त गर्नेछन ।
त्यसै गरी खुल्ला महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा एस एस एफसी सुकेपोखरी र फेमेसुवा लुम्फाबुङ भिड्ने भएका छन । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पि वाइ सी लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एस एस फाइनल पुगेको हो । निर्धारित समयमा एक एक को बराबरी भएपछी नतिजा पेनाल्टी मार्फत निकालिएको थियो । त्यस्तै दोस्रो सेमीफाइनलमा आयोजक टु स्टार लाइ शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै फेमेसुवा फाइनलमा पुगेको हो । महिला तर्फको विजेताले दश हजार र उपविजेताले पॉच हजार प्राप्त गर्ने टु स्टार ग्रामिण सिर्जनशिल क्लवका अध्यक्ष विजय नेम्वाङले जानकारी दिनुभयो ।
कार्तीक २७ गते देखि शुरू भएको मेला मंसिर २ गते सकिनेछ ।