प्रकाशपुर । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा विजयादशमीको अवसर पारी आयोजना हुन गईरहेको सातौं प्रकाशपुर च्यालेञ्ज कपको तयारी पूरा भएको छ ।
श्री प्रकाश माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । असोज १५ गते हुने उद्घाटन खेलमा रामधुनी इक्राही फुटबल क्लब, रामधुनी–४ र खारखोला फुटबल क्लब, चतरा भिड्ने कार्यक्रम तय भएको छ ।
बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको मुख्य प्रायोजन तथा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० को कार्यालयको सह–प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज २२ गतेका दिन हुनेछ ।